पोखरामा शिक्षाशास्त्र सङ्कायको शिक्षक क्षमता अभिवृद्बी तालिम

पोखरामा शिक्षाशास्त्र सङ्कायको शिक्षक क्षमता अभिवृद्बी तालिम

2026-04-04

 

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले  विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पोखरामा २०८२।१२।२१ देखि २६ सम्म    " शिक्षकहरुको क्षमता अभिबृद्बी"  शीर्षकको दोस्रो चरणमा आवासीय तालिमको प्रारम्भ भएको छ। सहभागिमुलक र नवप्रवर्तनात्मक शैक्षिक विधि, शिक्षण र सिकाईमा मूल्याङ्कन प्रणालीहरु,  सिकाईमा सूचना प्रविधिको प्रयोग,  विश्वभरका कार्यक्षेत्रमा आवश्यक प्रतिस्पर्धी पाठ्यक्रम र शिक्षण विधिका साथै अनुसन्धानमुलक लेखन तथा प्रकाशन गरी पाँच() वटा क्षेत्रलाई समेटेर दिइने तालिमको उदघाटन  त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले गर्नुभयो । क्षमता अभिवृद्बी तालिममा २५ जना आंगिक क्याम्पस र ५ जना सामुदायिक क्याम्पसका शिक्षकहरु गरी ३० जनाको सहभागिता रहेको छ । ७५ घण्टाको उक्त तालिम एकहप्ता आवासिय र बाँकी १० दिन विद्युतिय माध्याम (अनलाइन) मार्फत दिइने छ ।

तालिमको उदघाटनसत्रलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले देशहरुलाई आवश्यक सम्पूर्ण विधाका उत्कृष्ट शिक्षकहरु निर्माण गर्ने राष्ट्रीय जिम्मेवारी निर्वाह गर्दै आइरहेको शिक्षाशास्त्र सङ्कायलाई तालिम लागयतका माध्यामवाट थप सक्षम र अनुकरणीय शिक्षकहरु निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभएको थियो। उहाँले शिक्षकहरुको क्षमता अभिवृद्बी तालिमले समग्र विश्वविद्यालयको शैक्षिकस्तर सुधार्न महत्वपूर्ण योगदान गर्ने, नयाँ विषयवस्तुका बारेमा शिक्षकहरुलाई अद्यवधिक गरी शिक्षण सिकाईलाई व्यवस्थित गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । तालिममा उपस्थित शिक्षकहरुलाई उच्चमनोवलका साथ तालिममा संलग्न हुन, सकरात्मक संस्थागत भावनावाट प्रेरित भई  अनुसन्धान र प्रकाशनमा विशेष प्राथमिकता दिन अनुरोध गर्नुभएको थियो ।

शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा वेदराज आचार्यले शिक्षकहरुलाई अद्यवधिक गर्न र शिक्षाशास्त्र सङ्कायलाई थप प्रतिस्पर्धी बनाउन सवैतहका पाठ्यक्रम परिमार्जित गर्न लागिएको,  शिक्षाशास्त्र सङ्कायका शिक्षकहरु प्रतिस्पर्धी र नतिजा मुखी बनाउन तालिमहरु निरन्तर सञ्चालन गरिएको, पाठ्यक्रममा  परिवर्तित र समयानुकुल विषयवस्तुहरु समेटने अवधारणा ल्याइएको, विश्वविद्यालयका शिक्षकहरु सवैभन्दा अनुकरणीय बन्नुपर्ने, शिक्षण विधिमा अभ्यस्त हुनुपर्ने, मूल्याङ्कन प्रणाली वैज्ञानिक र यथार्थपरक हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।उहाँले सिकाईलाई कार्यक्षेत्र र उद्योगसँग जोड्ने प्रयास गरिएको र लेखन र प्रकाशनमा शिक्षाशास्त्र सङ्कायका शिक्षकहरु निरन्तर प्रोत्साहन गरिरहेको र कैयौ शिक्षकहरुले उत्कृष्टता प्रदर्शन समेत गर्नुभएको बताउनुभएको थियो।उहाँले शिक्षाशास्त्र सङ्कायलाई गुणस्तरीय र अन्तराष्ट्रीयस्तरको बनाउन प्रत्येक बर्ष अन्तराष्ट्रीय गोष्ठी र सेमिनार आयोजना गरिएको, उच्चशिक्षा सम्वन्धी विभिन्न शीर्षकमा राष्ट्रीय स्तरको प्राज्ञिक संवादलाई निरन्तरता दिइएको, अभ्यास शिक्षण देखि उत्तरपुस्तिका परीक्षण समेतका १७ वटा विभिन्न  निर्देशिकाहरु बनाइएको जानकारी गराउँदै शिक्षाको समग्र सुधार र व्यवस्थापनमा सक्रिय योगदान गर्न तालिममा उपस्थित शिक्षकहरुलाई विशेष अनुरोध गर्नुभएको थियो ।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.हरि प्रसाद पाठकले युवा शिक्षकहरुको उपस्थिति रहेको  शिक्षक अभिबृद्बि तालिमले  शिक्षण सिकाईमा नविनताको शुरुवात गर्ने अपेक्षा गर्नुहुँदै तालिमको उपलब्धी विद्यार्थीको नतिजामा देखिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।प्रा.डा पाठकले तालिमलाई सहभागितामुलक बनाउनुका साथै वास्तविक कक्षाकोठाका विषयहरु बारे अन्तरंग छलफल गराई सिकाईलाई मजवुत बनाउन यसप्रकारको तालिम कोशेढुंगा सावित हुने बताउनुभयो । तालिमको उदघाटनसत्रमा  राष्ट्रीय परीक्षा बोर्ड, गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यलयका प्रमुख सुवास पन्तले शिक्षा राष्ट्रको आधारस्तम्भ रहेकोले कक्षाकोठाहरु सिकाईमैत्री र सिकाई प्रविधिमैत्री र उपलब्धीमूलक हुनुपर्ने, प्रश्नपत्रमा हुने गम्भीर त्रुटीहरु ध्यानदिनुपर्नेमा ध्यानाकर्षण गराउँनुभएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.रामनाथ ओझाले तालिमले शिक्षकहरुको आत्मविश्वास बढाउने,व्यवहारिक शिक्षण सिकाईलाई प्रेरित गर्ने, नयाँ मूल्य मान्यताका साथै आवश्यकताहरु बारेमा पर्याप्त अद्यवधिक गराँउनुका साथै अनुसन्धान र सिर्जनशिलतामा प्रोत्साहित गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।तालिममा सहभागि महेन्द्ररत्न क्याम्पस ताहाचलमा कार्यरत उपप्राध्यापक प्रमिला बस्नेतले परिवर्तित समयअनुसारमा प्रतिस्पर्धी र समयसन्दर्भ सुहाउँदो शिक्षकहरु निर्माण गर्न सान्दर्भिक पाठ्यक्रम निर्माण हुनुपर्ने र जिवन्त सिकाईका लागि तालिमको अर्थपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

तालिममा प्रा.डा पेशल खनाल, प्रा.डा कमल प्रसाद पौडेल, डा. मोहन पौडेल, डा.कमल प्रसाद आचार्य, डा. ध्रुव नीउरे, डा. नवराज न्यौपाने, डा.सुशिल भट्टराई, डा. खेम सुवेदी, डा. वेद प्रसाद ढकाल, रोमकान्त पाण्डे, परशुराम उपाध्याय, डा. यदुराम उप्रेती, देवीप्रसाद भट्टराई, डा.प्रेम प्रसाद पाण्डे, डा.राजेन्द्र खनाल लगायतले सहजीकरण गर्नुहुने छ । तालिममा शिक्षाशास्त्र सङ्कायद्वारा तयार गरीएको "शिक्षकहरुको क्षमता अभिवृद्बी सम्वन्धी तालिम निर्देशिका" को विमोचन समेत उपकुलपति प्रा.डा अर्यालले गर्नुभएको थियो । शिक्षाशास्त्र सङ्कायले आर्थिक वर्ष २०८१।०८२ मा १५० जनालाई  पाँच () वटा चरणमा शिक्षक क्षमता अभिबृद्बी तालिम दिइसकेको छ ।शिक्षाशास्त्र सङ्कायका सहायक डिनद्बय डा. जयविष्णु प्रधानले स्वागत मन्तव्य र  डा.अवतार सुवेदीले उदघाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।